योगेन्द्रमिलन छन्त्याल, लिस्बोन, पोर्चुगल, १६ माघ ।
आज लिस्बोनमा रहेका साहित्यप्रेमीहरुको एक भेला सम्पन्न भएको छ । भेलाले यहाँ रहेका साहित्यिक गतिविधिलाई सबैतिर प्रशारण गर्न र एउटा त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन गर्नका लागि अर्को भेलाको आयोजना गरी एक समिति गठन गर्ने निर्णय गरेको छ ।
शहिद दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा स्रष्टाहरुले गजल, कविता, निबन्ध, गीत र हाइकुहरु वाचन गर्नुभएको थियो । सिर्जनाहरुमा देशको अवस्था मात्र नभइ लिस्बोनमा देखिएका समस्याहरुकोसमेत चित्रण गरिएका थिए । एक सर्जकले आफ्नो गजलमा भन्नुभयो : 'बेहाल रै'छ धेरै यहाँ काम नहुनेको, नेपालबाट मगाउने दाम नहुनेको । हिड्छन् सबै ठाँटिएर काम हुनेहरु, मुहार हेर निन्याउरो छ माम नहुनेको ।'
यस्तै देशभक्तिपूर्ण, वैदेशिक समस्या र मायाप्रीतिका रचनाहरु वाचन गर्नेहरुमा कमल सिटौला, केशव भट्टराई, विष्णु खनाल, अनुराग कँडेल, भीम केसी कमल, इन्द्रेणी शर्मा, योगेन्द्रमिलन छन्त्याल, सुनिल सङ्गम र बाबुराम भुसाललगायतका हुनुहुन्थ्यो ।
शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण र राष्ट्रिय गानबाट प्रारम्भ भएको भेलाको गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य मकर हमालले मोतीराम भट्टको 'सानै उमेरदेखि मनै हर्न लागे' भन्ने गजल वाचन गरेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रम गैह्र आवासीय नेपाली संघ पोर्तुगलको सभाकक्षमा सम्पन्न भएको थियो ।
0 comments:
Post a Comment