योगेन्द्रमिलन छन्त्याल, हाम्बर्ग, जर्मनी, २६ मंसीर । के तपाई विदेशमा पैसा कमाउदै हुनुहुन्छ ? सावधान ! तपाईले कमाएको पैसा तपाईकै सर्वस्व स्वाहा पार्ने कारण बन्न पनि सक्छ । यही कथा बोल्छ : नेपाली कथानक चलचित्र देशदेखि विदेश । चलचित्र आज आमान्दा स्ट्रासे, हाम्बर्गको एक थियटर कक्षमा प्रदर्शन भएको छ ।
चलचित्रमा नायक निखिल उप्रेती, दिलिप रायमाजी, नायिका रिचा घिमिरे, निकिता थापालगायतका कलाकारहरुद्वारा अभिनय गरिएको छ ।
'फ्लिममा विदेशमा नेपालीहरुले भोग्नुपर्ने कठिनाइ, देश छोडेर बिदेशिनुपर्ने बाध्यताबारे मार्मिक विषयवस्तु समेटिएका होलान् भन्ने आशा थियो, कता कता अपूराहरु खड्किए मेरो मनमा' धरान घर भै विगत ७ वर्षदेखि जर्मनीमा रहनुभएकी प्रदर्शनका एक दर्शक मुना श्रेष्ठ भन्नु हुन्छ : 'तर विदेशमा लोग्नेले धन कमाएर नेपालमा श्रीमतीले दुरुपयोग गरेको कथा आफैमा राम्रो छ ।'
प्रदर्शनमा स्वयम् उपस्थित हुनुभएका निर्देशक थापा भन्नुहुन्छ : 'म आफैले निर्देशन गरेकोले मैले लामो भूमिका निभाउन पाएको छैन । देशदेखि विदेशको रिलिजपछि तुरुन्तै अर्को फ्लिम बनाउने योजना छ । आगामी फ्लिमहरुमा थप भूमिका निर्वाह गर्नेछु ।'
चलचित्र खेल्दाखेल्दै बीचैमा छाडेर पैसा कमाउन विदेशिएका नरेन्द्र थापाले जर्मनी र बेल्जियममा कमाएको पैसाले 'देशदेखि विदेश' चलचित्रको निर्माण गर्नुभएको बताइन्छ ।
देशदेखि विदेश निर्माणको क्रममा आफ्नै भाञ्जा पर्ने छायाँकार शिव ढकालले १६ वटा क्यानमा लाइट पास गराएर ७ लाखभन्दा बढी नोक्सानी पुर्याइदिएका थिए । थापाले करिब ६५ लाखको बजेटमा निर्माण भएको देशदेखि विदेश नेपालमा छिट्टै प्रदर्शनमा ल्याउने बताउनुभयो । यसअघि बेल्जियम र नेदरल्याण्डमा चलचित्रको प्रदर्शन गरिसकिएको छ ।
नेपाल जर्मन मिलन केन्द्र र एन आर एन जर्मनी स्थानीय परिषद्ले आयोजना गरेको प्रदर्शनीमा ७० जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ । चलचित्र प्रदर्शनबाट उठेको १०% रकम हयाम्बर्गस्थित नेपाली भाषा स्कुललाई सहयोग प्रदान गरिएको छ ।
0 comments:
Post a Comment