गैरआवासीय नेपालीको संस्था एनआरएनले गैरआवासीय नेपाली दिवस यही असोज २५ गते कास्कीको पोखरामा मनाउने भएको छ।
आज पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिइएको हो।
पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ पर्यटन वर्ष सन् २०११ लाई सफल पार्ने उद्देश्यले सो दिवसको आयोजना गर्न लागिएको एनआरएनका अध्यक्ष देवमान हिराचनले जानकारी दिए।
उनले गैरआवासीय नेपाली आफू बसेको समाजमा नेपालको प्रतिनिधित्व गर्दछन् र नेपालमा पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्दै यो दिवसले गैरआवासीय नेपालीमा नेपालप्रतिको अपनत्व सिर्जना गराउनका लागि पनि ठूलो सहयोग पुग्ने बताए।
उनले नेपालमा राजनीतिक खिचातानीका कारण लगानीकर्ताहरू लगानी गर्न डराइरहेको कारण यस्तो अवस्थाबाट देशलाई मुक्त गराउन राजनीतिज्ञहरूलाई आग्रह गरे।
देशमा प्रधानमन्त्री चुनिन नसक्दा विदेशमा बस्ने नेपालीलाई समेत दुःखी तुल्याएकाले देशलाई सरकारबिहीनको अवस्थामा नपार्नका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने धारणा अध्यक्ष हिराचनको रहेको छ।
दिवसमा मुख्य नारा "स्थानीय विकास र पर्यटन प्रबर्द्धनमा गैरआवासीय नेपाली" भन्ने रहेकाले यस नारा सँगसँगै गैरआवासीय नेपालीले नेपालको स्थानीय तहमा विकास गतिविधि अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा एनआरएनका सचिव तेन्जी शेर्पाको रहेको छ।
गैरआवासीय नेपाली दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रमहरू यसै नारालाई केन्द्रविन्दु बनाएर हुने पनि सचिव शेर्पाले जानकारी दिए।
यसैबीच आजै नेपालका लागि एनआरएनका कार्यकारी प्रबन्धक हेमराज आचार्य पनि नियुक्त भएका छन्। उनले अमेरिकामा सातवर्ष नीति निर्माण सल्लाहकारका रूपमा कार्य गरिसकेका छन्। रासस
0 comments:
Post a Comment