जर्मनीको म्युन्स्टरमा लुम्विनी-कपिलवस्तु दिवस अभियान क्षेत्रीय समिति गठन

हामी नेपाली विश्वको भूगोलमा बुद्ध र सगरमाथाको देशका नागरिक भनेर परिचित छौं । हाम्रो गौरव र “एसियाको प्रकाश”को रुपमा विश्व प्रसिद्द गौतम बुद्धको जन्मस्थल लुम्विनी, कपिलवस्तु नेपालमा रहेको तथ्य विश्वको लागि नौलो विषय होइन । सन् १९९७ मा लुम्विनी युनेस्कोको विश्व सम्पदा सूचिमा सूचिकृत भएको छ । बुद्धको जन्मस्थल नेपालमा भए पनि वहाँले भारतको बोध गयामा ज्ञान प्राप्त गर्नुभएको थियो । र, वहाँले पहिलो पटक धर्म प्रचार भारतको उत्तर प्रदेश वाराणसी नजिक सारनाथ भन्ने स्थानबाट सुरु गर्नुभयो । भारतको उत्तर प्रदेशको कुशीनगर भन्ने सहरमा वहाँको देहत्याग भएको थियो । यसरी बुद्धले जन्म लिएको, वोधज्ञान प्राप्त गरेको, पहिलो धर्म प्रचार गरेको र देह त्याग गरेको ती सबै स्थलहरुलाई पवित्र स्थलहरुको रुपमा लिइएको छ । त्यस मध्ये बुद्धको जन्मस्थल नेपालमा भए पनि अन्य ३ पवित्रस्थल भारतमा नै पर्दछन् । यद्यपि हाम्रो छिमेकि मुलुक भारतले बुद्ध जन्मस्थल बारे भ्रामक प्रचार प्रसार मात्र गरेन । केहिवर्ष देखि भारतले नेपालसंगको सिमा नजिकै उत्तर प्रदेशको पिपरहवामा नमुना कपिलवस्तु निर्माण गरेर गौतम बुद्धको जन्मस्थल लुम्विनी, कपिलवस्तुलाई नै विवादको विषय समेत बनाएका कारण विश्वभर छरिएर रहेका हामी आम नेपालीले आफ्नो स्वाभिमान र गौरवको रक्षा, विकाश र जगेर्ना गर्ने उद्देश्यले गौतम बुद्धको जन्मस्थल लुम्विनी, कपिलवस्तु नेपालमा रहेको तथ्यलाई थप उजागर गर्न सामुहिकरुपमा एकतावद्द हुदै १ डिसेम्वर, २००९ देखि विश्वव्यापी रुपमा लुम्विनी-कपिलवस्तु दिवस अभियानको शुरु गरेको हो । राम कुमार श्रेष्ठको विश्व संयोजकत्वमा यसको विश्व कार्य समिति गठन कार्य पुरा भैसके पछि क्रमिकरुपमा अभियानलाई विस्तार गर्ने क्रममा विश्वभर क्षेत्रिय तथा राष्ट्रिय समितिहरुको गठन कार्य अगाडि बढिरहेको छ । यो अभियान १ डिसेम्वर, २०१२ मा चौथो वर्षमा प्रवेश गर्दै गरेको सन्दर्भमा लुम्विनी-कपिलवस्तु दिवस अभियान, बेल्जियम राष्ट्रिय समितिका सल्लाहकार दामोदरप्रसाद आचार्यको सक्रियतामा जर्मनीमा गैर आवासीय नेपाली संघ, नर्डराइन वेस्टफालेनका क्षेत्रीय अध्यक्ष शिखर खड्काको संयोजकत्वमा समितिका सल्लाहकारहरु पछि थप गर्ने गरि हालको लागि १५ सदस्यीय लुम्विनी-कपिलवस्तु दिवस अभियान नर्डराइन वेस्टफालेन क्षेत्रीय समिति २७ नोभेम्वर, २०१२ का दिनमा गठन गरिएको छ । उक्त समितिमा क्षेत्रीय संयोजक शिखर खड्का र अन्य संयोजकहरु: निर्मल सिग्देल, सोनाम गुरुङ, तेज कुमारी शेरचन, प्रकाश शर्मा, श्याम परियार, सन्तोष राज गुरुङ, मदन दाहाल, बिकास ठकुरी, टंक लम्साल, हरी अर्याल, रण बहादुर साउद, उत्तम लम्साल, राजेन्द्र भुसाल र टेक नेपाली रहनु भएको छ ।

0 comments:

Post a Comment