पत्रकारमाथिको अक्रमणप्रति बेलायतमा विरोध

नेपाल पत्रकार महासङ्घ बेलायत शाखाले मङ्गलबार नेपाली दूतावास लण्डनमा एक विरोधपत्र बुझाई विराटनगरस्थित नागरिक दैनिकका पत्रकार खिलानाथ ढकालमाथि भएको आक्रमणप्रति विरोध जनाएको छ । वेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेसमक्ष पत्र बुझाइएको हो।
जसमा भनिएको छ- विराटनगरस्थित नागरिक दैनिकका सहकर्मी खिलानाथ ढकालविरुद्ध भएको आक्रमणप्रति नेपाल पत्रकार महासङ्घ बेलायत शाखाको ध्यानाकर्षण भएको छ । स्वतन्त्र पत्रकारिताको रक्षा गर्न राज्य सक्षम छैन भन्ने पछिल्ला घटनाले पुष्टि गरिसकेको उल्लेख छ।
आक्रमणकारीलाई न्यायको कठघरामा उभ्याउनुको सट्टा राज्यले संरक्षण दिनु स्वतन्त्र पत्रकारिताको अपमान हो भन्ने ठहरसमेत उक्त पत्रमा गरिएको छ । देशमा मौलाउँदै गएको हिंसात्मक गतिविधि, भयावहको वातावरण र प्रेसमाथिको नियोजित आक्रमणलाई बेलायत शाखाले दुर्घटनाको रुपमा लिएको छैन । त्यस्ता घटना नियन्त्रण र दोषीलाई कारबाही गर्न राज्य संयन्त्रले चासो नदेखाउनु खेदजन्य छ भन्दै त्यस्ता घटनाको बेलायत शाखा घोर भत्सना र विरोध गर्दछ पत्रमा उल्लेख छ ।
साथै विरोधपत्रमा भयमुक्त र स्वतन्त्र प्रेसलाई निर्वाधरुपमा काम गर्ने वातावरण बनाउन नेपाल पत्रकार महासङ्घ बेलायत शाखा अनुरोध गर्दछ भनिएको छ । दोषीलाई कानुनी दायरामा ल्याएर दण्डहीनताबाट उन्मुक्ति पाउने परम्पराको अन्त्य होस् भन्ने मागसमेत बेलायत शाखाले गरेको छ।
विरोधपत्र वेलायतका लागि नेपाली राजदूत डा‍. सुरेशचन्द्र चालिसेले आफ्नै कार्यकक्षमा बुझेका थिए। पत्र बुझाउन शाखाको तर्फबाट नेपाल बृटेन डट कमका सहसम्पादक धर्मराज अधिकारी दूतावास पुगेका थिए ।

0 comments:

Post a Comment