पोर्तुगलमा एक नेपाली युवक झुण्डिए

योगेन्द्रमिलन छन्त्याल, लिस्बोन, पोर्तुगल, २ जेठ । लिस्बोनमा बिगत एक वर्षदेखि रहँदै आएका पोखरा छोरेपाटनका २७ वर्षीय कृष्णप्रसाद सुबेदी मृत अवस्थामा फेला परेका छन् । आइतबार दिउँसो करिब साढे दुई बजेतिर मृतक आफू बस्दै आएको आर्रोइसको कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

'अपार्टमा पाँचजना नेपाली साथीहरु रहदै आएकोमा आज प्रेमप्रकाश शाही र मेरो छुट्टी थियो ।' कोठामा संगै बस्ने दीपक गुरुङले भन्नुभयो 'दुई बजे घुम्न जाम भन्दा उसले यही बस्छु भन्यो, हामी दुईजना मात्र बाहिर गयौ । उसको कहिल्यै आइतबार छुट्टी हुँदैनथ्यो, पहिलोपटक आइतबार छुट्टी लिएको थियो ।'

साढे तीन बजे घर आउँदा झुन्डिएको अवस्थामा देख्ने नितेन मल्लले आइतबार सुबेदी सामान्य अवस्थामा रहेको बताउनुभयो । शाहीका अनुसार सुबेदीले आइतबार बिहान कोठाको सरसफाई पनि गरेका थिए ।

'उसले कहिल्यै मनको कुरा खोलेदैनथ्यो । तर पिएको बेला सुनाउने प्रयास गर्थ्यो ।' रुमपार्टनर शाहीको भनाइ थियो, 'होम सिक् थियो होला सायद ।' शाहीले थप्नुभयो - 'सुइटर च्याटेर बिजुली झुण्ड्याउने अंकुशमा झुण्डिएको थियो । भर्‍याङ पनि नजिकै थियो ।'

बिहे गरेको छ महिनामै विदेशिएका सुबेदी गत वर्ष मे महिनामा पोर्तुगल आएका थिए । पुम्दी भुम्दी गाविस १ कास्की ठेगाना र राहदानी नम्बर २४८१२५२ रहेको उनी जर्मनीबाट पोर्तुगल आएका थिए । राहदानी अनुसार उनको जन्म मिति २९ सेप्टेम्बर १९८५ रहेको छ । उनको परिवार पोखरामा रहेका छन् । मृतक सुबेदीका बुवाआमा, श्रीमती र एक छोरी रहेका छन् । सुबेदी उनको परिवारमा एक मात्र छोरा थिए ।

अस्पतालले पोष्टमार्टम रिपोर्ट सोमबार छ बजेपछि उपलब्ध गराउने जनाएको छ । नेपालबाट आफन्तहरुले शव पठाइदिन भनेकाले सोका लागि एक फुनेरेरिआ (दाहसंस्कार) एजेन्सीमार्फत प्रक्रिया बढाउन छलफल चलाइएको एनआरएनका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले बताउँनुभएको छ ।

सहयोग समितिको अपिल
सोमबार बिहान एनआरएन कार्यालयमा बसेको बैठकले अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाको अध्यक्षतामा आकस्मिक कोष सङ्कलन समितिको गठन गरेको छ । समितिले शव व्यवस्थापन र शोक सन्तप्त परिवारलाई सहयोग गर्न सहयोग रकम सङ्कलन गर्नेछ ।

समितिमा लिस्बोनमा रहेका सबै संघसंस्थाका प्रमुखहरु र सञ्चारकर्मीहरु रहेका छन् । सहयोग समितिले सबै संघसंस्था र सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सक्दो सहयोग उपलब्ध गराइदिनु हुनका लागि अनुरोध गरेको छ ।

अधिवेशन एक हप्ता पछि सर्‍यो :
अधिवेशनको संघारमा सुबेदीको दुखद निधन भएकोमा सबैको ध्यान यही घटनामा केन्द्रित रहेको स्मरण गराउदै नेपाली लोकतान्त्रिक मञ्च पोर्तुगलले एनआरएनको मे २२ मा हुने अधिवेशनलाई दुई हप्ता पछि सार्न अनुरोध गरेको छ । सोमबार दिउँसो बसेको संघको बैठकले अधिवेशन एक हप्ताका लागि सारेको छ । संघका उपाध्यक्ष भीम केसी कमलले निर्वाचन तालिकाको सूचना संशोधन हुने गरी अधिवेशन मे २९ तारिखका दिन मार्क्वेस दे पोम्बालको होटेल फेनिक्समा हुने बताउनु भएको छ ।


0 comments:

Post a Comment