नटिंघममा नयाँवर्ष कार्यक्रम भव्यरुपमा सम्पन्न


नटिंघम÷यही अप्रिल २४ मा नेपाली समाज नटिंघमले नेपाली नयाँ वर्ष २०६८ उपलक्ष्यमा सांस्कृतिक कार्यक्रमसहित विभिन्न कार्यक्रमहरु आयोजना गरी नयाँ वर्षको स्वागत गरेको छ । हाइसन ग्रीन योथ क्लब नटिंघमको हलमा समाजका अध्यक्ष रणबहादुर केसीको अध्यक्षतामा भएको सो नयाँ वर्ष कार्यक्रम हरिकृष्ण कार्की र मदन भट्टराईको संयूक्त सञ्चालनमा भएको थियो । त्यसैगरी सांस्कृतिक कार्यक्रमको सञ्चालन राजेश मानन्धरले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि एनआरएनका केन्द्रीय सल्लाहकार कर्णबहादुर शाही, विशेष अतिथि सञ्चारकर्मी उषा भट्ट र आमा समूह चितवनकी श्रीमती राधा सापकोटा हुनुहुन्थ्यो । कार्यक्रम दिउँसो २ बजेदेखि राति १० बजेसम्म चलेको थियो ।

कार्यक्रमको सुरुमा नेपाली राष्ट्रिय धुन बजाइएको थियो । साथै कलाकारहरुले राष्ट्रिय गीत गाएर स्वागत गरेका थिए । स्वागत मन्त्यव्यको क्रममा समाजका सचिव तारानाथ भण्डारीले उपस्थित सबैलाई हार्दिक स्वागत गर्दै नयाँ वर्षको शुभकामना दिनुभएको थियो ।

प्रगतिशील नेपाली समाज ग्रान्थामका उपाध्यक्ष देवीलाल गैरेले समाजलाई नयाँ वर्ष कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिनु हुँदै नयाँ वर्षको शुभकामना प्रदान गर्नु भएको थियो । त्यस्तै नेपाली समाज नटिंघमकी सदस्य श्रीमती सकुन्तला न्यौपानेले महिलाको तर्फबाट नयाँ वर्षको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा कलाकारहरुको नेतृत्व सपना केसीले गर्नुभएको थियो । ‘रेली खोला बगर, काफल पाक्यो लहर......’ भन्ने गीतको बोलमा पूजा पाण्डेले नृत्य प्रस्तुत गर्नुभएको थियो । त्यस्तै ‘फूल मञ्जरीले...’ भन्ने गीतको बोलमा प्रगति भण्डारी, सरस्वती थापा र सपना केसीले समुह नृत्य गर्नुभएको थियो । ग्रान्थामका कलाकारहरु गीता, विजय, गोपाल र विष्णु गैरे (युनिक गैरे ग्रुप)ले ‘झमझम इस्टकोट.....’ भन्ने गीतमा नृत्य प्रस्तुत गर्नु भएको थियो भने ग्रान्थामबाटै मुना श्रेष्ठले ‘धरानको बजारमा....’ भन्ने गीतको बोलमा नृत्य गर्नुभएको थियो ।

त्यस्तै विभिन्न गीतको बोलमा कलाकार रोशनी खराल, दिपा कामी, कृष्णा कँडेल, प्रतिक्षा भण्डारी, अस्मिता खराल र हरि कार्कीले नृत्य प्रस्तुत गर्नुभएको थियो । नेपाली लोक भाकामा कलाकार हेमलाल कामीले राष्ट्रियता खतरामा रहेको आफ्नो देश नेपालको राष्ट्रिय स्वाधिनताको लागि लड्नपर्ने सन्देश दिने खालको नेपाली लोक गीत ‘फेरि पनि देशै सकियो, एउटा छोरो जन्माइदेउ हे आमा नत्र नेपाल यसै सकियो....’ भन्ने गीत गाइरहँदा देशप्रेमी उपस्थित सबै जनसमुदायले ताली बजाएर गीतको स्वागत गर्नुभएको थियो । त्यस्तै नयाँ वर्षको शुभकामना दिने क्रममा अतिथि सञ्चारकर्मी उषा भट्टले यति धेरै लामो दुरीमा रहेर पनि नेपालप्रतिको माया ममतालाई दर्शाउने गरी नेपाली वर्षको कार्यक्रममा बोल्न पाउँदा गौरवान्वित भएको बताउनु हँुदै शुभकामना प्रदान गर्नु भएको थियो । प्रमुख अतिथि कर्णबहादुर शाहीले नयाँ वर्षको शुभकामना दिनु हुँदै एनआरएनका गतिविधिबारेमा जानकारी गराउनु भएको थियो । वहाँले ‘एक पटकको नेपाली सधैँको नेपाली, त्यसैले हामी जहाँ भए पनि वा जुनसुकै देशको नागरिक भएपनि आखिर हामी नेपाली नै हो र हाम्रो यो मागलाई पुरा गराउन हामी सबै सक्रिय रहनु पर्छ’ भन्नु भयो । नेपालमा बन्न गइरहेको जनसंविधानमा दोहोरो नागरिकताको लागि एनआरएनले संघर्ष गर्दै आएकोले पक्कै पनि सफल हुने पनि वहाँले बताउनुभयो । दोहोरो नेपाली नागरिकता दिँदा नेपाल सरकारलाई समेत फाइदा पुग्ने र विकास निर्माणमा समेत ठूलो टेवा पुग्ने बताउनुभयो ।

अध्यक्ष रणबहादुर केसीले नयाँ वर्ष २०६८ को सुखद उपलक्ष्यमा कार्यक्रममा उपस्थित जनसमुदाय तथा देश विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई सुख, स्वास्थ्य, प्रगति उन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कार्यक्रमलाई हरतरहले सहयोग गर्ने सबै समाजका प्रतिनिधि तथा पदाधिकारीहरुलाई धन्यवाद दिनुभयो । नयाँ वर्षले नेपालमा शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउन र नेपाली जनसंविधान लेख्ने काम सफल बनाउन मद्दत पु¥याओस् भन्दै नेपालमा भैरहेको राजनैतिक अस्थिरतालाई केही प्रतिगामी शक्तिहरुले अझै अन्योल बनाई संविधान बन्न नदिने षडयन्त्र गरेको पनि वहाँले जिकिर गर्नु भयो । नेपालको शान्ति प्रक्रिया अगाडि बढिरहेको बताउँदै वहाँले प्रतिक्रियावादीहरुले जनताको संघीय गणतन्त्रलाई असफल बनाउन जस्तोसुकै प्रयत्न गरे पनि अन्त्यमा जनताको नै विजय निश्चित छ भन्नु भयो ।

समयमा नै जनताको जनसंविधान बन्नेछ भन्दै अध्यक्ष केसीले समय नपुगे समयावधि थपेर भए पनि जनताको ठूलो बलिदानीबाट प्राप्त उपलव्धिलाई संविधानमा सुनिश्चित गर्न सबै राजनीतिक पार्टी तथा नेताहरुलाई आग्रह पनि गर्नु भयो ।

कार्यक्रममा भारतीय कलाकार कोमलले मुन्नी बदनाम हुई भन्ने गीतमा नाँचेर रौनक थप्नु भएको थियो । त्यस्तैगरी कार्यक्रममा नेपाली बाजा र नेपाली लोक गीतमा सहभागीहरुले सामुहिक नाच गरेका थिए ।कार्यक्रममा सहभागी कलाकारहरुलाई प्रमुख अतिथिको हातबाट पुरस्कार प्रदान गरिएको थियो । प्रमुख अतिथि तथा अतिथिहरुलाई कार्यक्रममा अध्यक्ष केसी र उपाध्यक्ष विष्णु गुरुङले फूलको गुच्छा तथा खादा ओडाएर सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा खानाको व्यवस्था समाजका सल्लाहकार सुरेश श्रेष्ठको आफ्नै रेष्टुरेण्ट ‘माउण्ट एभरेस्ट गोर्खा रेस्टुरेण्टण्ट’ बाट उपलव्ध गराइएको थियो । हलको र ड्रिंकको व्यवस्थापन प्रविण पाण्डे, कृष्ण खराल, अर्चना हमाल, देवी लिम्बू, लक्ष्मी केसी, शिव श्रेष्ठ, लोक गुरुङ, कृष्ण बस्याल, मुकुन्दहरि खराल, लालबहादुर थापा, पूर्णभद्र कडेल, चुराबहादुर कामी, शभ्भु अर्याल, भैरव राई, आइतबहादुर लिम्बूले गर्नु भएको थियो ।

0 comments:

Post a Comment